CLI

नियमित शेयर कारोबारमा नयाँ १ प्रतिशत शुल्क लाग्ने प्रचार गलत : सांसद हरि ढकाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले नियमित दोस्रो बजारमा हुने शेयर कारोबारमा नयाँ १ प्रतिशत कर वा शुल्क लाग्ने भन्ने भ्रमप्रति स्पष्टिकरण दिएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत हुने नियमित शेयर किनबेचमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने बताएका हुन्।

ढकालका अनुसार दोस्रो बजारमा शेयर कारोबार गर्दा लगानीकर्ताले तिर्नुपर्ने अन्तिम कर पूँजीगत लाभकर मात्र हो, जुन हाल ७.५ प्रतिशत वा १० प्रतिशतको दरमा लागू रहेको छ। ब्रोकरले नियमित कारोबारमा १ प्रतिशत अतिरिक्त कर वा शुल्क असुल्ने भन्ने प्रचार गलत भएको उनको भनाइ छ।

उनले १ प्रतिशत शुल्क २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट (बजारबाहिर) कारोबारमा मात्र लागू हुने स्पष्ट पारे। यस्तो शुल्क कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबार, जस्तै बकसपत्र, मृत्युपछिको नामसारी वा कम्पनीभित्र हुने ठूलो शेयर स्थानान्तरणमा मात्र लाग्ने व्यवस्था रहेको उनले बताए।

ढकालले नियमित दोस्रो बजारको कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, धितोपत्र बोर्ड शुल्क, निक्षेप सदस्य शुल्क र पूँजीगत लाभकर मात्र लाग्ने उल्लेख गर्दै कुनै नयाँ १ प्रतिशत शुल्क थप नभएको स्पष्ट पारे।

शेयर कारोबारसम्बन्धी गलत सूचना फैलिँदा लगानीकर्तामा अनावश्यक अन्योल र त्रास सिर्जना भएको उल्लेख गर्दै उनले आधिकारिक जानकारीका आधारमा मात्र निष्कर्ष निकाल्न र हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेका छन्।

Leave Your Comment

Related News