CLI

जनताको मूल्याङ्कनमा अब्बल बन्न सभामुख अर्यालको सांसदलाई आग्रह

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई आग्रह गरेका छन्।

संघीय संसद् सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले लाखौँ मतदाताको विश्वास जितेर संसद्‌मा पुगेका सांसदहरूले जनताको अपेक्षा अनुसार जिम्मेवार व्यवहार गर्नुपर्ने बताए।

सभामुख अर्यालले सांसदहरूबिच राम्रो कानुन निर्माण, अनुकरणीय व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले सांसदका हरेक गतिविधिको मूल्याङ्कन जनताले गरिरहेको भन्दै जनविश्वास कायम राख्ने गरी काम गर्नुपर्ने बताए।

उनले अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई संसदीय भूमिकामा प्रभावकारी रूपमा प्रयोग गर्न सांसदहरूलाई आग्रह गरे।

सभामुख अर्यालले भने, “हामीमध्ये धेरै सांसद नयाँ छौँ। नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन, तर सङ्घीय संसद्को कार्यप्रणाली र प्रक्रियामा अझ अभ्यस्त हुन बाँकी छ। त्यसैले यस अभिमुखीकरणबाट सिकेर आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ।”

उनले समयपालन, अनुशासन र जिम्मेवार व्यवहारबाट पनि सांसदहरूको मूल्याङ्कन हुने उल्लेख गर्दै सांसदहरूलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे। सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएको प्रति असन्तुष्टि पनि व्यक्त गरे ।

Leave Your Comment

Related News