काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो लगानी पोर्टफोलियोमा रहेका विभिन्न ३४ वटा बैंक तथा वित्तीय संस्थाद्वारा जारी डिबेन्चर (ऋणपत्र) खुला बजारमार्फत बिक्री गर्ने भएको छ।
प्राधिकरणको अवकाश कोष व्यवस्थापन महाशाखाले सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेका डिबेन्चरहरू प्रतिस्पर्धात्मक दरमा बिक्रीका लागि खुला गरिएको जनाएको हो।
प्राधिकरणका अनुसार पहिलो पटक असार १२ गते सूचना प्रकाशित गरी बिक्री प्रक्रियाको जानकारी गराइएको थियो भने असार १६ गतेदेखि डिबेन्चर बिक्री खुला गरिएको छ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मार्फत प्रतिस्पर्धात्मक मूल्यमा डिबेन्चर खरिद गर्न सक्नेछन्।
प्राधिकरणले बिक्रीमा राखेका सबै डिबेन्चर ‘फ्री ब्यालेन्स’ अवस्थामा रहेका जनाएको छ। अर्थात् ती डिबेन्चरमा कुनै पनि प्रकारको बन्धक, लक–इन वा रोक्का नरहेको र सहज रूपमा हस्तान्तरण गर्न मिल्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ।
प्राधिकरणले बिक्रीका लागि राखिएका डिबेन्चरको विस्तृत विवरण, संख्या तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको जानकारी सूचनामार्फत सार्वजनिक गरेको छ।
बिक्रीमा राखिएका प्रमुख डिबेन्चरहरू र तिनको संख्या :
कुमारी बैंक डिबेन्चर (KBLD89): ४,६४,६२३ कित्ता
ग्लोबल आइएमई बैंक डिबेन्चर (GBILD84/85): २,९९,१३७ कित्ता
सिद्धार्थ बैंक डिबेन्चर (SBLD89): २,९१,७८७ कित्ता
एभरेष्ट बैंक डिबेन्चर (EBLD85): २,५५,०३३ कित्ता
कुमारी बैंक डिबेन्चर (KBLD90): १,५०,००० कित्ता
बैंक अफ काठमाण्डू डिबेन्चर (BOKD86KA): १,४५,७७९ कित्ता
नागरिक लगानी कोष डिबेन्चर (CIZBD90): १,१०,००० कित्ता
सनराइज बैंक डिबेन्चर (SRBLD83): १,००,००० कित्ता
नबिल बैंक डिबेन्चर (NABILD2089): ३३,८६२ कित्ता
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डिबेन्चर (NIMBD2085): ८०,००० कित्ता


