CLI

राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सुरु गर्ने, ७७ जिल्लाबाट १० हजारभन्दा बढी नमुना संकलन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको अवस्था मापन गर्न ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सर्वेक्षणका लागि देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटिने जनाएको छ। र्यान्डम स्याम्पलिङ (Random Sampling) विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ नमुना संकलन गरिने बैंकले जनाएको छ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभव संकलन गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण, वित्तीय सेवाको गुणस्तर अभिवृद्धि तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्यांक संकलन कार्यमा सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुने जनाएको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था रहने पनि बैंकले स्पष्ट पारेको छ।

सर्वेक्षणबाट संकलित विवरण तथा जानकारी तथ्यांक ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्यांक विश्लेषणका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणसम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

Leave Your Comment

Related News