काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले “Leading Beyond Finance, Shaping the Future” भन्ने मूल नारासहित पहिलो सीएफओ सम्मेलन २०२६ सफलतापूर्वक आयोजना गरेको छ। सम्मेलनसँगै नेसनल बेस्ट प्रेजेन्टेड अवार्ड्स (एनबीपीए) २०२५ पनि प्रदान गरिएको छ, जसमार्फत वित्तीय प्रतिवेदन, संस्थागत सुशासन तथा पारदर्शितामा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई सम्मान गरिएको छ।
सम्मेलनमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), वित्तीय क्षेत्रका नेतृत्वकर्ता, नियामक निकाय, नीतिनिर्माता, चार्टर्ड एकाउन्टेन्ट तथा उद्योग क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको आर्थिक विकासमा वित्तीय नेतृत्वको बदलिँदो भूमिकाबारे छलफल गरिएको थियो भने उत्कृष्ट वित्तीय प्रतिवेदन अभ्यास गर्ने संस्थाहरूलाई एनबीपीएमार्फत सम्मान गरिएको थियो।
उद्घाटन सत्रमा आईक्यानका परिषद् सदस्य तथा ‘मेम्बर्स इन इन्डस्ट्री कमिटी’का अध्यक्ष सीए (डा.) सुनील देवकोटाले सीएफओहरूको भूमिकाबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि आईक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगरले नवप्रवर्तन, नैतिक सुशासन र दिगो आर्थिक वृद्धिलाई अघि बढाउन सक्षम भावी वित्तीय नेतृत्व विकासप्रति आईक्यान प्रतिबद्ध रहेको बताए।
मुख्य वक्ताका रूपमा आईक्यानका पूर्वअध्यक्ष तथा विभिन्न वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सीए रत्नराज बज्राचार्यले नेपालको वित्तीय भविष्य निर्माणमा सीएफओहरूको रणनीतिक भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको उल्लेख गरे।
सम्मेलनमा सूर्य नेपाल प्रालिका वित्त तथा सूचना प्रविधि उपाध्यक्ष सीए अभिषेक साराफले “CFO Beyond the Balance Sheet: The CFO as Strategic Navigator” विषयमा तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीए मनोज ज्ञवालीले “The Evolving CFO Mindset: From Operation to Strategist” विषयमा प्राविधिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षण “Everything Needs Finance: CFOs at the Crossroads – Building Nepal’s Financial Future” शीर्षकको प्यानल छलफल थियो। छलफलमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, स्वचालन, दिगोपना प्रतिवेदन, सुशासन तथा भर्चुअल सीएफओ (vCFO) सेवाका सन्दर्भमा सीएफओहरूको बदलिँदो जिम्मेवारीबारे विचार आदानप्रदान गरिएको थियो।
प्यानलमा एनसेल एक्सियाटा लिमिटेडका फाइनान्सियल कन्ट्रोलर सीए सुरज लामिछाने, स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीएफओ मोहम्मद यासिर अराफिन, शिखर इन्स्योरेन्सका सीएफओ तथा कम्पनी सचिव सीए सुरज राजभाक र सीजी कर्प ग्लोबलका महाप्रबन्धक सीए विपिन विहारी पंगेनी सहभागी थिए। छलफलको सहजीकरण आईक्यानका परिषद् सदस्य सीए अमन उप्रेतीले गरेका थिए। प्यानलिस्टहरूले विभिन्न उद्योगमा वित्तीय रूपान्तरण, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) को कार्यान्वयन, प्रविधिमा आधारित प्रतिवेदन प्रणाली तथा नियामक, उद्योग, शैक्षिक संस्था र प्रविधि प्रदायकबीचको सहकार्यको आवश्यकताबारे धारणा राखेका थिए।
कार्यक्रमकै अर्को महत्वपूर्ण आकर्षण नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट्स अवार्ड्स (एनबीपीए) २०२५ वितरण समारोह थियो। विभिन्न क्षेत्रमा उत्कृष्ट वित्तीय प्रतिवेदन, पारदर्शिता र संस्थागत सुशासन प्रदर्शन गर्ने संस्थाहरूलाई सम्मान गरिएको थियो।
यस वर्ष निजी क्षेत्रका बैंकतर्फ नबिल बैंक लिमिटेड, वित्तीय सेवातर्फ कामना सेवा विकास बैंक लिमिटेड, जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड तथा उत्पादनमूलक क्षेत्रतर्फ युनिलिभर नेपाल लिमिटेड ले स्वर्ण पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी, आईक्यानले ६ वटा रजत पुरस्कार, ५ वटा कांस्य पुरस्कार तथा १८ वटा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको छ। बैंकिङ, बीमा, उत्पादन, सञ्चार तथा सूचना प्रविधि, सेवा, संस्थागत सुशासन तथा एकीकृत प्रतिवेदनलगायत विभिन्न विधामा कुल ३४ वटा पुरस्कार वितरण गरिएको थियो।
मूल्याङ्कन प्रक्रियामा ११ विभिन्न क्षेत्रका ३४ संस्थाका ३९ मनोनयन समावेश गरिएको थियो। यसले नेपाली संस्थाहरूमा पारदर्शिता, जवाफदेहिता तथा उच्चस्तरीय वित्तीय प्रतिवेदनप्रतिको प्रतिबद्धता थप सुदृढ हुँदै गएको आईक्यानले जनाएको छ।
कार्यक्रमको समापन गर्दै आईक्यानका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले सम्मेलनका मुख्य निष्कर्ष प्रस्तुत गर्दै पुरस्कार विजेता संस्थाहरूलाई बधाई दिएका थिए। उनले लेखा व्यवसायको सुदृढीकरण, उत्कृष्ट वित्तीय प्रतिवेदन प्रवर्द्धन तथा नेपालको दिगो आर्थिक विकासमा योगदान गर्न सक्ने वित्तीय नेतृत्व विकासमा आईक्यान निरन्तर प्रतिबद्ध रहने बताए।
आईक्यानले पहिलो सीएफओ सम्मेलन २०२६ र नेसनल बेस्ट प्रेजेन्टेड अवार्ड्स २०२५ को सफल आयोजनाले व्यावसायिक उत्कृष्टता प्रवर्द्धन, उत्कृष्ट वित्तीय प्रतिवेदन अभ्यासको सम्मान तथा नेपालको वित्तीय नेतृत्वलाई थप सशक्त बनाउन संस्थाको प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।


