CLI

शेयर बजारको गिरावटले राजस्वमा धक्का, लाभकर संकलन अपेक्षाभन्दा कम

काठमाडौं । शेयर लगानीकर्ताहरु सरकार र सरकारका नीति प्रति विश्वस्त नहुँदा यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिन थालेको छ । नयाँ सरकार गठनयता शेयर बजारले निरन्तर दबाब सामना गरेपछि लगानीकर्ताले ठूलो परिमाणमा सम्पत्ति गुमाएका छन् भने  नाफा कमाउने अवसर पनि सीमित भएको छ । यसको प्रभावस्वरुप सरकारले पुँजीगत लाभकर मार्फत प्राप्त गर्ने राजस्वमा समेत कमी आएको देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनपछि शेयर बजारले अपेक्षित गति लिन सकेको छैन । लगानीकर्ताले खर्बौं रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । त्यसैले उनीहरुले बजारमैत्री नीति, स्पष्ट नियामकीय व्यवस्था तथा लगानीकर्तालाई विश्वास बढाउने निर्णयको माग पनि गर्दै आएका छन् । बजार लगातार दबाबमा रहँदा धेरै लगानीकर्ताले नाफा आर्जन गर्न नसकेका कारण कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर पनि प्रभावित भएको हो । नाफा कम हुँदा त्यसबाट उठ्ने कर स्वतः घट्ने भएकाले यसको प्रत्यक्ष असर सरकारी राजस्वमा परेको देखिन्छ।

सीडीएसीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म सरकारले पुँजीगत लाभकरमार्फत ९ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ। जेठ महिनामा मात्रै ४३ करोड १८ लाख रुपैयाँ लाभकर उठेको छ । त्यसभन्दा अघिल्लो वैशाखमा ९३ करोड ६१ लाख रुपैयाँ र चैतमा १ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ लाभकर संकलन भएको थियो । चैतपछि बजार कारोबार र नाफा दुवै कमजोर बन्दै जाँदा मासिक लाभकर संकलनमा पनि उल्लेख्य गिरावट आएको हो ।

विगतका वर्षमा सरकारले ठूलो रकम पुँजीगत लाभकर मार्फतसंकलन गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा सरकारले १ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ लाभकर उठाएको थियो भने २०७४/७५ मा यो घटेर ५० करोड ७६ लाख रुपैयाँमा सीमित भएको थियो । २०७५/७६ मा ६१ करोड ३ लाख रुपैयाँ र २०७६/७७ मा ९८ करोड ५३ लाख रुपैयाँ संकलन भएको थियो।

शेयर बजारमा ऐतिहासिक उछाल आएको आर्थिक वर्ष २०७७/७८ मा भने सरकारले १४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ लाभकर संकलन गरेको थियो। त्यसपछिको २०७८/७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपैयाँ उठेको थियो। बजारमा तीव्र गिरावट आएपछि २०७९/८० मा लाभकर संकलन घटेर २ अर्ब ९७ करोड ५ लाख रुपैयाँमा झरेको थियो। २०८०/८१ मा केही सुधार हुँदै ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुगेको लाभकर संकलन २०८१/८२ मा बजारमा आएको उल्लेखनीय सुधारसँगै १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँको नयाँ उच्च विन्दुमा पुगेको थियो।

चालु आर्थिक वर्षको जेठसम्म भने सरकारले ९ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। पछिल्ला वर्षहरुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि चालु आवको जेठसम्म सरकारले पुँजीगत लाभकरमार्फत कुल ६२ अर्ब ६० करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

बजार विश्लेषकहरुका अनुसार शेयर बजारमा लगानीकर्ता उत्साहित हुने वातावरण, स्थिर नीति, नियामकीय सुधार तथा बजारमैत्री निर्णय भए कारोबार बढ्ने, लगानीकर्ताले नाफा आर्जन गर्ने र त्यसको प्रत्यक्ष लाभ सरकारको राजस्वमा समेत पर्नेछ । त्यसैले पुँजीबजारलाई केवल लगानीकर्ताको हितसँग मात्र नभई सरकारको कर संकलन र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रुपमा हेर्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

Fiscal Year Total CGT (Amt in ‘000’)
2073-74 1,448,263
2074-75 507,638
2075-76 610,274
2076-77 985,286
2077-78 14,136,153
2078-79 10,353,059
2079-80 2,970,589
2080-81 5,507,700
2081-82 16,543,701
2082-83(Jestha) 9,544,758
Total 62,607,421

Leave Your Comment

Related News