काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने तीन वटा पसल तथा फर्मलाई कुल २ लाख २५ हजार रुपैयाँ जरिबाना गरेको छ।
विभागले मंगलबार काठमाडौं उपत्यकाका १३ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित मट्का बिरयानी क्लाउड किचनमा म्याद गुज्रिएको खाद्यवस्तु बिक्री गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
यस्तै, खरिद बिल तथा विजक नराखेको कसुरमा काठमाडौं महानगरपालिका–७, गणेशस्थानस्थित इलाभेन इलाभेन ओयर्स लाई २० हजार रुपैयाँ तथा चाबहिलस्थित फुयाल खाद्य स्टोर लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२, सानेपास्थित तः नानी ट्रेडिङ कम्पनी प्रालि लाई व्यवसाय दर्ता प्रमाणपत्र, प्यान, खरिद–बिक्री बिल–विजक तथा कर चुक्ता लगायतका आवश्यक कागजातसहित तीन दिनभित्र बबरमहलस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार अनुगमन गरिएका बाँकी ९ वटा पसल तथा कम्पनीलाई भने आवश्यक सुधार गर्न निर्देशन दिई सचेत गराइएको छ।
विभागले उपभोक्ताको स्वास्थ्य र हितविपरीत गतिविधि गर्ने व्यवसायीमाथि नियमित अनुगमन तथा कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।


