CLI

युद्धसम्बन्धी सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका ४ नेपाली रिहा, स्वदेश फर्किने तयारी

काठमाडौं । मध्यपूर्वका विभिन्न देशमा साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मध्ये ४ जना नेपाली रिहा भएका छन् । उनीहरू आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्किने तयारीमा रहेको  नियमित प्रेस ब्रिफिङमा  परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले  रिहा भएका नेपालीलाई सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले आवश्यक सहजीकरण गरिरहेका छन् । उनीहरुले कुनै जरिवाना तिरे वा नतिरेको विषयमा भने मन्त्रालयलाई जानकारी प्राप्त नभएको बताइएको छ।

इरानले प्रहार गरेका मिसाइल र ड्रोनसम्बन्धी भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने, अफवाह फैलाउने तथा फेक न्यूज प्रवाह गरेको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र ओमानमा गरी ११ नेपाली पक्राउ परेका थिए। पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्।

उनीहरुमाथि सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने खालका सामग्री पोस्ट गरेको, युद्धसम्बन्धी दृश्यहरू रेकर्ड गरी सार्वजनिक गरेको तथा भ्रामक सूचना फैलाएको आरोप लगाइएको छ।

पश्चिम एसियाको युद्धका कारण त्यहाँका देशहरूले साइबर गतिविधि तथा सामाजिक सञ्जालमाथिको निगरानी कडा बनाएका छन् । यही कारण बाँकी पक्राउ परेका नेपालीलाई कानुनी प्रक्रियामार्फत छिटो रिहा गराउन चुनौती रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

Leave Your Comment

Related News