काठमाडौं । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।
तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो । तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो । विसं २०८० वैशाखमै ग्राभेल सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पटक–पटक म्याद थप गरिएको थियो । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको भए पनि काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक एक महिनाको म्याद थपिएको थियो ।
रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलले जानकारी दिइन् । उनका अनुसार ग्राभेल सम्पन्न भएपछि ढोरपाटन–फल्लेघर खण्डको यात्रा व्यवस्थित भएको छ । निर्माण कम्पनीले सुरुदेखि नै अपेक्षाअनुसार काम नगर्दा परियोजना समयमै सम्पन्न हुन नसकेको उनले बताइन् ।
“ढिलै भए पनि सडक ग्राभेल भयो । लामो समय सडक अलपत्र थियो, अहिले सडकको अवस्था राम्रो भएको छ”, पौडेलले भनिन्, “ग्राभेल सम्पन्न भएपछि तत्काल कालोपत्र गर्न पाए सडक अझ व्यवस्थित हुन्थ्यो । तर त्यसका लागि बजेट छैन । विभागबाट बजेटको व्यवस्था भएपछि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढ्छ ।”
विसं २०६८ मा रुपन्देहीबाट सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा, गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म जोडिएको छ । रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार प्रगति हुन सकेको थिएन ।
सडक ग्राभेल भएपछि बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको यात्रा सहज भएको ढोरपाटन नगरपालिका–९ का थमनबहादुर घर्तीले बताए । उनका अनुसार यसअघि २२ किलोमिटर दूरी पार गर्न झण्डै साढे दुई घण्टा लाग्ने गरेकामा अहिले ४५ मिनेटमै यात्रा पूरा गर्न सकिन्छ । सडक सुधार भएपछि ढोरपाटन आउने पर्यटक र स्थानीयवासी दुवैलाई सहज भएको उनले बताए ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले सडक व्यवस्थित भएसँगै ढोरपाटनमा उत्पादन हुने स्याउ, आलु, सिमीलगायतका कृषि उपज बजारीकरण गर्न सहज हुने बताउनुभयो । पछिल्लो समय ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले सडक सुधारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।


