काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भास्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले प्रश्न गर्न नदिने प्रवृत्ति बढेको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घटना भइरहेका टिप्पणी गरे। देशमा संविधान र कानुनको परिधिभन्दा माथि ‘श्री ८ बालेन्द्र शाह’ हुनुहुन्छ भन्ने खालको चेतावनीपूर्ण सन्देश आम नागरिकलाई दिन खोजिएको टिप्पणी छ, उनले भने ।
‘सरकार निरंकुश बन्दै गएको छ। सत्ताउन्मादले हुनुपर्छ,’ उनले भने, ‘सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।’
मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठेपछि सरकारमाथि प्रश्न गर्दा ‘प्रश्न सोध्ने तँ को होस्?’ भन्ने शैलीमा सरकारी व्यवहार देखिएको उनले आरोप लगाए।
उनले भने,’ श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’
कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् ।
राईले सरकारको शैलीलाई हिरण्यकश्यपसँग तुलना गर्दै सरकारमाथि प्रश्न गर्न नछाड्ने बताए।
उनले सुरक्षाघेराभित्रका एक व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई थर्काउने काम गरिरहेको आरोपसमेत लगाए। होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेमा अरूलाई दोष देखाएर पन्छिन खोजिएको उनको भनाइ थियो।


