CLI

मिटरब्याजपीडितसँग निजगढमै गृहमन्त्रीको वार्ता

काठमाडौं । जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौं आउँदै गरेका मिटरब्याजपीडितसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा मंगलबार वार्ता गरेका छन्।

विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै तथा प्रधानमन्त्री वालेन्द्र शाहले जनकपुरमा गरेको प्रतिबद्धता स्मरण गराउन मिटरब्याजपीडितहरूले असार २५ गतेदेखि जनकपुरबाट काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका थिए। काठमाडौंतर्फ अघि बढिरहेका उनीहरूलाई निजगढमा रोकेर गृहमन्त्री गुरुङले प्रत्यक्ष संवाद गरेका हुन्।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले आन्दोलनरत पीडितका गुनासा सुनेका थिए। संघर्ष समितिका अनुसार छलफलका क्रममा पीडित पक्षले आफ्ना माग समेटिएको मागपत्र गृहमन्त्रीलाई हस्तान्तरण गरेको छ।

संघर्ष समितिका अगुवा मनोज पासवानले गृहमन्त्रीसँग पहिलो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको जानकारी दिँदै दोस्रो चरणको वार्ता करिब एक घण्टापछि पुनः सुरु हुने बताएका छन्।

मिटरब्याजपीडितहरूले सरकारसँग विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न, मिटरब्याजमा संलग्नमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई न्याय र राहत सुनिश्चित गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्।

Leave Your Comment

Related News