काठमाडौं । विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै गर्दा यी दुई देशबीचको ऐतिहासिक र खेलकुद इतिहासकै सबैभन्दा कट्टर प्रतिद्वन्द्विताको चर्चा पुनः चुलिएको छ। फुटबलको मैदानमा मात्र सीमित नरही राजनीतिक तनाव र ऐतिहासिक घटनाक्रमका कारण पनि यो खेल निकै भावनात्मक बन्ने गर्छ।
फुटबल मैदानमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा यति धेरै आक्रामक र भावनात्मक हुनुको मुख्य कारण सन् १९८२ को फल्कल्याण्ड्स युद्ध जसलाई अर्जेन्टिनामा माल्भिनास भनिन्छ ।
दक्षिण आन्ध्र महासागरमा अवस्थित फल्कल्याण्ड टापुको आफ्नो अधिकार जमाउने विषयमा दुई देशबीच ७४ दिनसम्म युद्ध चलेको थियो। अर्जेन्टिनाको तत्कालीन सैन्य शासकले उक्त टापुमाथि कब्जा जमाउन खोजेपछि बेलायतले आफ्नो नौसेना पठाएको थियो। यस युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र ३ जना स्थानीय नागरिकले ज्यान गुमाएका थिए। अन्ततमा बेलायतले टापुमाथि पुनः आफ्नो नियन्त्रण कायम गर्यो।
यस्तो छ दुई देशबीचको ६ दशक लामो विश्वकप इतिहास र मुख्य विवादहरु:
१९६६ को विश्वकप: एन्टोनियो राटिनको रातो कार्ड
सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपको क्वार्टरफाइनलमा यी दुई टोलीबीचको प्रतिद्वन्द्विताले उग्र रुप लियो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राटिनलाई रेफ्रीसँग विवाद गरेपछि मैदानबाट बाहिरिन आदेश दिइएको थियो। राटिनले मैदान छाड्न अस्वीकार गर्दै बेलायती झण्डा अंकित कर्नर फ्ल्याग हातले समातेर विरोध जनाएका थिए। इंग्ल्यान्डले सो खेल १-० ले जित्यो तर खेलपछि इंग्ल्यान्डका म्यानेजरले अर्जेन्टिनी खेलाडीहरुलाई खेलभावना विपरित व्यवहार गरेको भन्दै आलोचना गरे, जसलाई अर्जेन्टिनाले अपमानको रुपमा लियो।
१९८६ को विश्वकप: म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र प्रतिशोध
सन् १९८२ को फल्कल्याण्ड्स (माल्भिनास) युद्धको पृष्ठभूमिमा १९८६ को क्वार्टरफाइनल खेल निकै तनावपूर्ण बनेको थियो। डिएगो म्याराडोनाले यस खेलमा दुई प्रसिद्ध गोल गरे। पहिलो गोल उनले हातको प्रयोग गरेर गरेका थिए, जसलाई पछि ‘ह्यान्ड अफ गड’ (भगवानको हात) का रुपमा चिनियो। त्यसको केही मिनेटपछि नै उनले आधा भन्दा बढी इंग्ल्यान्डका खेलाडीहरुलाई छलाउँदै उत्कृष्ट गोल गरे। म्याराडोना र धेरै अर्जेन्टिनीहरुका लागि यो जित फुटबलको सफलता मात्र नभई युद्धको बदला जस्तै थियो।

१९९८ को विश्वकप: डेभिड बेकह्यामको रातो कार्ड
फ्रान्समा भएको १९९८ को विश्वकपको अन्तिम १६ को खेल पनि विवादमुक्त रहन सकेन। दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्डका युवा स्टार डेभिड बेकह्यामले अर्जेन्टिनाका डिएगो सिमियोनीलाई लडाएपछि रातो कार्ड पाएका थिए। १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरे पनि खेल अतिरिक्त समयपछि पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ अर्जेन्टिना ४-३ ले विजयी भयो। बेकह्यामको उक्त रातो कार्डले बेलायतमा ठूलो आक्रोश पैदा गरेको थियो।

२००२ को विश्वकप: बेकह्यामको पुनरागमन
चार वर्षपछि, सन् २००२ को विश्वकप समूह चरणमा यी दुई टोली पुनः भेटिए। अघिल्लो विश्वकपमा आलोचित बनेका डेभिड बेकह्यामका लागि यो पुनरागमनको अवसर बन्यो। उनले पेनाल्टीमार्फत खेलको एक मात्र निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई १-० को जित दिलाए र टोलीलाई अघिल्लो हारको बदला लिन मद्दत गरे।

विश्वकप २०२६ को दोस्रो सेमिफाइनल
फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल भोलि जुलाई १६ नेपाली समय अनुसार बिहीबार बहाना को १२:४५ बजे अमेरिकाको एटलान्टास्थित मर्सिडिज-बेन्ज स्टेडियममा हुँदैछ। यस प्रतिस्पर्धाको विजेता टोलीले आगामी जुलाई १९ मा हुने फाइनलमा उपाधिका लागि स्पेनको सामना गर्नेछ भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।विश्वकपमा
विश्वकपमा हेड-टु-हेड इतिहास
यी दुई टोलीबीच विश्वकपमा अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भइसकेको छ, जसमा इंग्ल्यान्डको इतिहास बलियो देखिएको छ:
१९६२: इंग्ल्यान्ड ३–१ अर्जेन्टिना (समूह चरण)
१९६६: इंग्ल्यान्ड १–० अर्जेन्टिना (क्वाटरफाइनल)
१९८६: अर्जेन्टिना २–१ इंग्ल्यान्ड (क्वाटरफाइनल)
१९९८: अर्जेन्टिना २–२ इंग्ल्यान्ड (पेनाल्टीमा अर्जेन्टिना ४-३ ले विजयी, अन्तिम १६)
२००२: इंग्ल्यान्ड १–० अर्जेन्टिना (समूह चरण)


