CLI

बुटवलबाट नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ निवासी ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ निवासी सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ निवासी ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ निवासी ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा रु. एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद नोटको कुल मूल्य रु. ६ लाख २२ हजार बराबर रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, घटनास्थलबाट नक्कली नोट उत्पादनमा प्रयोग हुने फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, विशेष कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave Your Comment

Related News