काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान (केवाईसी) प्रणाली पूर्ण रूपमा लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने भएको छ भने पुराना खाताहरू पनि २०८३ असोज मसान्तभित्र अद्यावधिक गर्नुपर्नेछ।
राष्ट्र बैंकले जारी गरेको ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको आधारमा ग्राहकको पहिचान यकिन गरी राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरका आधारमा मात्रै खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ।
त्यस्तै, इजाजतपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा लिनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा सोही अवधिभित्र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर संकलन गरी ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई परिचयपत्र बनाएर ग्राहक पहिचान अद्यावधिक गर्न प्रत्येक ६ महिनामा मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट जानकारी गराउनुपर्नेछ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले भने राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकले यो व्यवस्था लागू भएपछि ग्राहक पहिचान प्रणाली थप व्यवस्थित हुने, वित्तीय कारोबारको पारदर्शिता बढ्ने तथा डिजिटल माध्यमबाट ग्राहक विवरण अद्यावधिक गर्ने प्रक्रिया प्रभावकारी बन्ने अपेक्षा गरेको छ।
यसअघि २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्र बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको थियो।
त्यस्तै विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न सक्नेछन्। तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरी खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको थियो।
त्यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न तथा बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था गरिएको थियो ।


