लोपोन्मुख सामग्री संरक्षणका गर्न म्याग्दीमा सङ्ग्रहालय स्थापना

काठमाडौं । लोपोन्मुख सामग्रीहरुको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा सङ्ग्रहालय स्थापना भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरस्थित मङ्ग्रला इन्द्रेणी पार्क (उद्यान) परिसरको भवनमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्न सङ्ग्रहालय स्थापना गरिएको मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताए ।

दुईतले भवनको माथिल्लो तलामा सजावट गरेर तयार पारिएको सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, वेशभूषा झल्कने सामग्रीहरु सङ्कलन गर्न थालिएको छ उनले भने ‘गत आर्थिक वर्षमा विनियोजन भएको १० लाख खर्चेर सङ्ग्रहालयका बनाइएको कोठामा सजावट र सामान राख्ने ठाउँ बनाएका छौं ।’

सङ्ग्रहालयमा राख्नका लागि परम्परागत सामग्री, पोसाक, हातहतियार, भाँडा, गहना, पुस्तक, धातुका सिक्कालगायत सामग्री सङ्कलन गर्न थालिएको हो । बाबियाचौर घर भई हाल काठमाडौं बस्दै आएका इन्द्रबहादुर अधिकारीले उपलब्ध गराएको चार रोपनी, गाउँपालिका र मङ्गला युवा क्लबले खरिद गरेको १० आना जग्गामा सार्वजनिक शौचालय, सामुदायिक भवनसहितको उद्यान निर्माण भएको थियो ।

बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर उद्यान बनाउन गाउँपालिका, गण्डकी प्रदेश र समुदायको १ करोडभन्दा बढी लगानी भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले जनप्रतिनिधीको हैसियतमा राज्यबाट पाएको सुविधाबाट उद्यान बनाउन एक लाख सहयोग गरेका छन् ।

विभिन्न प्रजातिका बिरुवा रोपिएको, दुबो बिछ्याइएको, बालबालिका खेल्ने र ज्येष्ठ नागरिक बस्ने सुविधा भएको उद्यान परिसरमा सङ्ग्रहालय भवन रहेको छ । खानेपानी, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार रहेको छ ।

गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरूको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष रोकाले बताए ।

उद्यानको हेरचाह र व्यवस्थापनका लागि गाउँपालिकाले एकजना कर्मचारी नियुक्त गरेको छ । बाबियाचौर बजारको बायाँ किनारमा म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भुल्ने र वृद्धवृद्धाहरुलाई टहलिन सजिलो भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार