निरन्तर विद्युत उपलब्ध नभएको भन्दै पचरौताका जनता आन्दोलनमा, कुमान घिसिङ विरुद्ध नाराबाजी

काठमाडौं ।  बाराको पचरौता नगरपालिकाका जनता निरन्तर विद्युत आपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। पचरौताका जनता निरन्तर विद्युत आपूर्तिको माग गर्दै विगत तीन दिनदेखि नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ कार्यालयको मुख्य गेटमा धर्नामा बस्दै आन्दोलन गरिरहेका छन्।

निरन्तर विद्युत सप्लाई नहुँदा पचरौता जनता आन्दोलनमा उत्रिनु परेको हो। पचरौतामा लोडसेडिङ नभए पनि भोल्टेजको अभावमा निरन्तर रुपमा विद्युत आपूर्ति हुन सकिरहेको छैन। विद्युतको अभावमा कृषकहरुको रोजीरोटीमा समेत असर परेको आन्दोलनमा सहभागी स्थानीयको भनाइ छ।

‘यस क्षेत्रमा पानी नपर्दा खडेरीको समस्या, खेती योग्य जमिनमा रोपाई हुन सकेको छैन। गाउँमा पिउने पानीको समस्या, यसमा पनि विद्युत सप्लाईमा निरन्तरता छैन। केही समय विद्युत उपलब्ध भए पनि भोल्टेजको अभावमा पावर कट हुने गरेको छ। विद्युतको अभावमा कृषि मोटर चल्न सकेको छैन। साथै विद्युतबाट हुने सम्पूर्ण काम ठप्प अवस्थामा छ,’ आन्दोलनमा सहभागीहरुको गुनासो छ।

सोमबार आन्दोलनको तेस्रो दिन धर्नामा बसेका आन्दोलनकारीहरुले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ, प्रादेशिक प्राधिकरण प्रमुख, सिम्रौनगढ प्राधिकरण कार्यालय प्रमुख विरुद्ध नाराबाजी गरेका छन्। उनीहरु सिम्रौनगढ प्राधिकरणको बातरा फिडर, पचरौता फिडर र सिम्रौनगढ फिडरमा विद्युत सप्लाईमा निरन्तरता र पुर्ण भोल्टेजको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

यस्तै आन्दोलन जारी रहँदा मंगलबार जिल्ला प्रसाशन कार्यालय कलैयामा र्बार्ता हुने सूचना प्राप्त भएकाले आन्दोलन स्थगित गरिएको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंहले बताए । तर माग पुरा नभए आन्दोलनले निरन्तरता पाउने उनको भनाइ छ। यस आन्दोलनमा ३०० भन्दा बढी पचरौताका स्थानीयको सहभागिता छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार