CLI

धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग

काठमाडौं । नेपालको पूँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन धितोपत्र बोर्डले मार्जिन लेण्डिङ, सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालाहरूबाट राय-सुझाव माग गरेको छ ।

विश्वव्यापी पूँजी बजारको विकासक्रमले देखाएको अनुभव अनुसार प्रचलित धितोपत्र वित्तीय सेवा (Securities Financing Services) जस्तैः मार्जिन लेण्डिङ्ग, सेक्युरिटी लेंडिङ्ग एण्ड बरोइङ र सर्ट सेलिङ् संचालन व्यवस्थाका लागि Market Readiness तथा सरोकारवाला पक्षहरूको राय/सुझाव लिनका लागि ×नेपालको धितोपत्र बजारमा मार्जिन लेण्डिङ्ग (Margin Lending), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing) र शर्ट सेलिङ्ग (Short Selling) को लागि गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३” विषयक Consultation Paper पहिलोपटक बोर्डबाट सार्वजनिक गरिएको छ।

नेपाल सरकारको आ.व. २०८३।८४ को बजेट वक्तव्यमा इन्ट्राडे, सर्ट सेलिङ् र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरुवात गर्नेछौ भन्ने कार्यक्रम घोषणा भएको। त्यस्तै बोर्डको आ.व. २०८३।८४ को पूँजी बजार नीति तथा कार्यक्रमममा मार्जिन लेण्डिङ्ग, सेक्युरिटी लेंडिङ्ग एण्ड बरोइङ र सर्ट सेलिङ् संचालन आदि संचालनमा ल्याउन कानूनी, संस्थागत तथा प्रकृयागत संरचना व्यवस्था गर्ने कार्यक्रम सार्वजनिक गरिएको ।

विश्वव्यापी पूँजी बजारको विकासक्रमले देखाएको अनुभव अनुसार मार्जिन लेण्डिङ्ग, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग जस्ता नयाँ सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी तथा दक्ष बनाउने महत्वपूर्ण आधार तयार गरेको देखिन्छ। बोर्डबाट नेपालको पूँजी बजारलाई पनि समयानुकूल आधुनिक, प्रतिस्पर्धी, सुरक्षित तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप बनाउने उद्देश्यले मार्जिन कारोबारलाई प्रभावकारी बनाउने, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग चरणबद्धरूपमा लागू गर्ने नीति रहेको छ। यस्ता धितोपत्र सेवाहरूको सफल कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपायहरू अपरिहार्य हुन्छन्।

बोर्डबाट विभिन्न चार अध्यायमा विभाजन गरी अवधारणापत्र तयार गरिएको छ । जसको प्रथम अध्यायमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता, दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास तथा नेपालका लागि प्रमुख सिकाइ, तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण र चौथो अध्यायमा नेपालका लागि विशिष्टकृत नीति सिफारिश, जसअन्तर्गत नेपालको लागि उपयुक्त Margin Lending मोडल, Securities Lending Borrowing and Lending मोडल, Covered Short Selling मोडल प्रस्ताव गरिएको छ ।

उक्त अवधारणापत्रमा निकायगत तथा संस्थागत गर्नुपर्ने तयारी र भूमिका स्पष्टसँग किटान गरिएको छ । जसमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा सम्बन्धित अन्य निकायहरूको भूमिका स्पष्ट गरिएको छ। यस अवधारणापत्रले कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधि आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई समेटेको छ।

अन्त्यमा बोर्डबाट तयार गरिएको यस अवधारणापलाई सार्वजनिक परार्मशकाका लागि सम्बद्ध सबै पक्षबाट प्राप्त रचनात्मक सुझावहरूको समेत अध्ययन गरी मार्जिन लेण्डिङ्ग नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली र आवरणयुक्त शर्ट सेलिङ्ग नियमावली तर्जूमा एवं सार्वजनिकीकरण गरिने हुँदा यथाशीघ्र बोर्डको ईमेल [email protected] मा अमूल्य सुझाव प्रदान गरिदिनुहुन बोर्डको अनुरोध छ ।

बोर्डबाट उपर्युक्तानुसारको धितोपत्र वित्तिय सेवाको सफल कार्यान्वयनबाट नेपालको पूँजी बजारमा स्थायित्व कायम हुने, तरलता अभिवृद्धि हुनुका साथै लगानीकर्ता (व्यक्तिगत तथा संस्थागत) को सहभागिता विस्तार हुने र लगानीकर्तालाई नयाँ वित्तीय उपकरणहरू उपलब्ध हुने तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको छ ।

अध्ययनका लागि कृपया तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला, अथवा QR Scan गर्न सकिनेछ ।लिङ्कः https://shorturl.at/iTa2e

Leave Your Comment

Related News