CLI

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव देखिएको र त्यसबाट उपभोक्ता मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्।

अध्यक्ष दाहालले ग्यास अभावका कारण जनताले भोग्नुपरेको समस्याबारे सांसदहरूले शून्य समय र विशेष समयमा निरन्तर आवाज उठाउँदै आएको बताए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आएको उल्लेख गर्दै उनले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, “माननीय सदस्यहरूले शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुन्नमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न/गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।”

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्। ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने तथा महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

अध्यक्ष दाहालको रुलिङसँगै सरकारले ग्यास आपूर्तिको वास्तविक अवस्था, बजारमा देखिएको अभावको कारण तथा बिक्री–वितरण प्रणालीबारे आवश्यक कदम चाल्नुपर्ने भएको छ। साथै बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने दबाब सरकारमाथि परेको छ।

Leave Your Comment

Related News