काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १४औँ र १५औँ वार्षिक साधारणसभा एकैसाथ आह्वान गरेको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ १८ गते साधारणसभा बोलाउने निर्णय गरेको हो।
सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। यसअनुसार दुवै आर्थिक वर्षको गरी कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
साधारणसभाले दुवै आर्थिक वर्षका वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।
सभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। त्यस्तै, सञ्चालकको दैनिक भ्रमण भत्ता पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीहरू सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


