CLI

दुई दिनमा १६ हजार बढी ग्यास सिलिन्डर वितरण, आजदेखि बिक्रेताबाट खरिद गर्न निगमको आग्रह

काठमाडौं ।  नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।

विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो ।
अतिआवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । सातवटा बिक्री केन्द्रबाट आज ९ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएकाे छ । शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ ।

यसैबीच नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो ।

निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ः०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न निगमले भनेको छ। साथै, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

Leave Your Comment

Related News