काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
राजीनामा दिनुअघि मुख्यमन्त्री बानियाँले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे २८ बुँदामा प्रगति विवरण प्रस्तुत गरेका थिए।
नेकपा एमालेले गत साउन ६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए। सोहीअनुसार उनले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए।
तर विश्वासको मतको प्रस्तावमाथिको प्रक्रिया अघि बढाउँदै उनले पदबाट राजीनामा घोषणा गरेका हुन्। उनको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।


