काठमाडौं । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले नेपालमा देखिएको ग्यास अभाव र उपभोक्ताले भोग्नुपरेको समस्याप्रति व्यंग्य गर्दै चन्द्रमाबाट नेपालको ग्यासको लाइन देखिन थालेको टिप्पणी गरेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पोर्तेलले विगतमा चन्द्रमाबाट चीनको ‘ग्रेट वाल’ देखिने चर्चा हुने गरेको उल्लेख गर्दै अहिले नेपालको ग्यासका लागि लाग्ने लामो लाइनसमेत देखिन थालेको बताएका हुन्।
‘चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो,’ उनले भने।
उनले ग्यासको अभावका कारण सर्वसाधारणले लामो समय लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई सरकारको ध्यानाकर्षण गराएका हुन्। पछिल्लो समय ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताले विभिन्न स्थानमा लामो लाइन बस्नुपरेको भन्दै उनले समस्या समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको बताए।


