काठमाडौं । नामी भिगो ई२ प्लस नेपालमा सार्वजनिक भएको छ। डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले किफायती मूल्यमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई२ प्लस सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको भिगो ई२ प्लसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार उक्त मूल्य नाडा अटो शो अवधिका लागि मात्र लागू हुनेछ। बजेटमार्फत विद्युतीय सवारीसाधनमा भएका करसम्बन्धी परिवर्तनलाई ध्यानमा राख्दै मूल्य निर्धारण गरिएको र ग्राहकको चाहनालाई केन्द्रमा राखेर विशेष मूल्यमा गाडी उपलब्ध गराइएको एमएडब्लू वृद्धि मोटर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए।
ग्राहकको आवश्यकता, उनीहरूले खोजिरहेको सुविधा र विशेषगरी उनीहरूको बजेटलाई ध्यानमा राखेर उत्पादन तथा मूल्य निर्धारण गरिनुपर्ने उनको भनाइ छ। साथै कम्पनीले आफ्ना हरेक गतिविधिमा ग्राहकलाई केन्द्रमा राख्दै आएको उनले बताए।
‘हामीले कुनै पनि गतिविधि गर्दा ग्राहकलाई केन्द्रविन्दुमा राखेर गर्छौं। ग्राहकको आवश्यकता के छ, उहाँहरूले के खोजिरहनुभएको छ र सबैभन्दा महत्वपूर्ण कुरा, कुन मूल्यमा खोजिरहनुभएको छ भन्ने कुरालाई हामी प्राथमिकता दिन्छौं,’ अग्रवालले भने।
उनका अनुसार ग्राहकको आवश्यकता र बजारको मागअनुसार उत्पादनलाई मूल्य तथा सुविधासँग सन्तुलन गर्नु नै ‘भ्यालु बेस्ड’ कम्पनीको महत्वपूर्ण पक्ष हो।
नामी भिगो ई२ प्लसलाई कम्पनीले ‘फुल एसयूभी’ का रूपमा बजारमा ल्याएको छ। गाडीमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। यसमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्। जसले क्रमश ३०० किलोमिटर र ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै यसले १६७ किलोवाटको डीसी फास्ट चार्जिङ समेत सपोर्ट गर्छ।
गाडीको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ। नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दा यो एसयूभीको उपयोगितामा महत्वपूर्ण पक्षका रूपमा रहने कम्पनीको अपेक्षा छ।
भिगोमा चालकको आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न मिल्ने इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन्। त्यस्तै, स्टेरिङका लागि क्लाम, स्ट्यान्डर्ड र कम्फर्ट मोड उपलब्ध छन्।
एसी प्रणालीमा पनि आवश्यकता अनुसार नर्मल, रेस्ट र स्नो मोड छनोट गर्न सकिने व्यवस्था गरिएको छ। यसले विभिन्न मौसम तथा ड्राइभिङ अवस्थाअनुसार गाडीको प्रयोगलाई सहज बनाउने कम्पनीको भनाइ छ।
भिगो ई२ प्लसको मुख्य आकर्षणमध्ये १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले रहेका छन्। गाडीमा ३६० डिग्री क्यामेरा समेत दिइएको छ।
त्यस्तै, चालकले आवाजमार्फत गाडी तथा मोबाइलका विभिन्न फङ्सनलाई कमाण्ड दिन सक्ने भ्वाइस कन्ट्रोल सिस्टम उपलब्ध छ। वायरलेस चार्जिङ र वाइफाइ कनेक्टिभिटीले गाडीभित्रको डिजिटल अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
सुरक्षातर्फ एडास लेभल–२ प्रविधि उपलब्ध छ। यसले चालकलाई विभिन्न ड्राइभिङ अवस्थामासहयोग पुर्याउने कम्पनीको दाबी छ।
नयाँ नाभी भिगोको आगमनले इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहककालाई थप विकल्प प्रदान भएको छ।


