काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूबाट बिक्री नभएको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी बिक्री खुला गरेको छ ।
बैंकले भदौ ६ गते सूचना प्रकाशित गर्दै उक्त संस्थापक शेयर खरिदका लागि सर्वसाधारण तथा इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै असार ३१ गते ३५ दिने सूचना जारी गरेको थियो ।
अब उक्त अवधिमा बिक्री नभएको शेयर अन्य व्यक्ति तथा संस्थाका लागि खुला गरिएको हो । इच्छुक लगानीकर्ताले भदौ ६ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन बैंकको केन्द्रीय कार्यालय धरान, सुनसरीमा पेश गर्न सकिनेछ । त्यस्तै, बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंस्थित कार्यालयमा समेत आवेदन बुझाउन सकिनेछ ।
बैंकका अनुसार बिक्रीमा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी ललिता थापाको नाममा रहेको १ लाख १ हजार ४०० कित्ता र सविना श्रेष्ठको नाममा रहेको ६१ हजार १२४ कित्ता शेयर रहेको छ ।
यसरी बिक्रीमा आएको संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।



