काठमाडौं । साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न कम्पनी तथा सामूहिक लगानी कोषका गरी ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
नेप्सेको तथ्यांकअनुसार साउन १९ गतेदेखि २२ गतेसम्म मात्रै बोनस शेयर तथा इकाईसहित ठूलो संख्यामा धितोपत्र सूचीकृत भएका हुन् । सूचीकृतमध्ये प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), बोनस शेयर र म्युचुअल फन्डका इकाई रहेका छन् ।
साउन २६ गते माउन्ट एभरेस्ट पावरको ८६ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । त्यस्तै, साउन २७ गते सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता आईपीओ नेप्सेमा थपिएको छ ।
यसैगरी, साउन १९ गते नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५१ लाख ४३ हजार ८१ दशमलव ६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोही दिन सिद्धार्थ इक्विटी फन्ड–२को १२ करोड ५० लाख कित्ता इकाई सूचीकृत भएको छ ।
साउन २० गते दुईवटा सामूहिक लगानी कोषका गरी २७ करोड ५० लाख कित्ता इकाई सूचीकृत भएका छन् । जसमा एउटा योजनाको १२ करोड ५० लाख र अर्को योजनाको १५ करोड कित्ता इकाई रहेका छन् ।
त्यस्तै, साउन २२ गते थप १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचीकृत भएको तथ्यांकमा उल्लेख छ ।
यसरी साउनमा आईपीओ, बोनस शेयर तथा म्युचुअल फन्डका इकाईसमेत गरी कुल ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् ।





