काठमाडौं । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्नेलगायत समस्या देखिन्छ । डा.चौधरीले भने, “लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।”
परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी देखिने र १८ जनामा कानमा मेसिन लगाउने समस्या पाइएको स्वास्थ्यकर्मी भीषण थारुले जानकारी दिए । उनका अनुसार थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएका २८ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको स्वास्थकर्मी थारुले बताए ।
कानमा समस्या देखिए पनि सामान्य ठानेर लामो समयसम्म उपचार नगर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा समस्या जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । शिविरमा आएका सेवाग्राहीको कान परीक्षण तथा स्वास्थ्य परामर्शमा स्वास्थ्यकर्मी भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायत रहेका थिए ।
सो शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो । खजुरा गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक सेवाको पहुँच पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ ।




