CLI
Global College

उत्पादन तथा प्रशोधन समूहको कुल नाफा ३९ प्रतिशतले वृद्धि, १२ कम्पनी लाभमा, ३ अझै घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनीहरुको समग्र नाफामा ३९ प्रतिशतको उल्लेख्य वृद्धि भई कुल ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँमा सीमित थियो। कुल १५ कम्पनीहरुमध्ये १२ वटा कम्पनी नाफामा रहन सफल भएका छन् भने ३ वटा कम्पनी अझै घाटामा सञ्चालन भइरहेका छन्। समग्र क्षेत्रको नाफा उकालो लागे पनि युनिलिभर नेपाल र सर्वोत्तम सिमेन्टको नाफा घटेको छ भने पाल्पा सिमेन्टको नाफामा सबैभन्दा ठूलो गिरावट देखिएको छ। अर्कोतर्फ हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल र सोनापुर मिनरल्स एन्ड आयल जस्ता कम्पनीहरुले भने नाफामा सुधार गरेका छन्।

नाफाका आधारमा युनिलिभर नेपाल १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कमाएर समूहमै पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्षको १ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको तुलनामा नाफा १८.१९ प्रतिशतले घटे पनि ४२४ रुपैयाँ प्रतिसेयर आम्दानी सहित युनिलिभर पहिलो स्थानमा कायम छ। नाजुक आर्थिक अवस्था, चर्को प्रतिस्पर्धा र कच्चा पदार्थ तथा ढुवानी भाडामा भएको मूल्यवृद्धिका कारण युनिलिभर नेपालको सञ्चालन लागत बढेर समग्र नाफामा असर परेको कम्पनीले बताएको छ । यस चुनौतीको सामना गर्न कम्पनीले बिक्रीको परिमाण बढाउने, ब्रान्ड मजबुत बनाउने, डिजिटल क्षमता अभिवृद्धि गर्ने र अनुशासित लागत व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीले १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २८.१४ प्रतिशतले बढेको हो भने यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा रहेको छ। सागर डिस्टिलरी लिमिटेडले आफ्ना मदिरा ब्रान्डहरुको उत्पादन सूची विस्तार गर्दै बजारमा नयाँ उच्च गुणस्तरको ‘त्रिबल एक्स रम’ ल्याउने तयारी गरेको छ। कम्पनीले हाल २५ यु.पि. को ‘श्लोक’, ४० यु.पि. का ‘ब्ल्याक ओक’, ‘गोल्डेन ओक’ र ‘सिल्भर ओक’ का साथै ५ प्रतिशत नशाको मात्रा भएको पेय पदार्थ बिक्री गरिरहेको छ। ब्रान्डको विविधताले कम्पनीको आर्थिक कारोबार बढाउने विश्वास लिएको डिस्टिलरीले उप-उत्पादन (लेदो) बाट बनेको सामाग्रीलाई पशुपन्छीको दानाका लागि कच्चा पदार्थका रुपमा बिक्री गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ।

याता, सोनापुर मिनरल्स एन्ड आयलले नाफामा ६१३.५४ प्रतिशतको असाधारण वृद्धि गर्दै ३३ करोड ७१ लाख रुपैयाँ कमाएको छ । प्रतिसेयर आम्दानी १०.९६ रुपैयाँ रहेको छ  । अघिल्लो वर्ष ६१ करोड ३९ लाख घाटामा रहेको बोटलर्स नेपाल (तराई) ले उत्कृष्ट सुधार गर्दै ६५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ भने यसको प्रतिसेयर आम्दानी युनिलिभरभन्दा पनि उच्च ५४५ रुपैयाँ पुगेको छ।

त्यसैगरी सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।  प्रतिसेयर आम्दानी २१.२० पुगेको छ।

अर्कोतर्फ, केही प्रमुख कम्पनीहरुको नाफामा घटेको छ। शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घटेर ७८ करोड ४४ लाख पुगेको छ ।  रिलायन्स स्पिनिङ मिल्सको १६.१४ प्रतिशतले घटेर ३९ करोड ९० लाख र सर्वोत्तम पेन्ट्सको ११.३२ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ कम्पनीको प्रतिसेयर आम्दानी ६.६० मा सीमित भएको छ।

पाल्पा सिमेन्टको नाफामा भने ५९ प्रतिशतको ठूलो गिरावट आई ३ करोड ९९ लाख रुपैयाँ मा झरेको छ।

समूहका तीन कम्पनी भने अझै घाटामा रहेका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सले गत आर्थिक वर्षमा ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ४ करोड ९ लाख ६९ हजार रुपैयाँ थियो। घाटा केही घटे पनि कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ २९ पैसा रहेको छ।

सागर डिस्टिलरीले गत आर्थिक वर्षमा ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ थियो। यस वर्ष घाटा थप बढेको देखिन्छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ७ रुपैयाँ ८९ पैसा रहेको छ।

घोराही सिमेन्ट पनि घाटामा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ८० लाख ७२ हजार रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ थियो। यस हिसाबले घाटाको आकार उल्लेख्य रुपमा घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ १३ पैसा रहेको छ।

Leave Your Comment

Related News