काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। सुरुङमार्ग हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।
नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारी साधनलाई काठमाडौं–धादिङ आवागमनका लागि सुरुङ प्रयोग गर्न अनुमति दिइएको छ।
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गरेबापत कुनै शुल्क लाग्ने छैन ।
सुरुङमार्गमा सवारी सञ्चालनको अवस्था, चालकले भोगेका समस्या तथा उनीहरूको अनुभवबारे एक सातासम्म अध्ययन गरिने सुरक्षा युनिटले जनाएको छ। त्यसपछि अन्य प्रकारका सवारी साधनलाई पनि क्रमशः सुरुङमा प्रवेश गराउने तयारी छ।
सुरुङमार्गमा सवारीको अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ। सुरुङभित्र अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने तथा सवारी रोक्न र ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ।
त्यस्तै, पैदलयात्री, दुईपांग्रे सवारी तथा प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई सुरुङ प्रवेशमा रोक लगाइएको छ।
यसैबीच, सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको छ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा तथा शुल्क संकलन युनिटको व्यवस्थापन गरिएको छ । सुरुङभित्रको अवस्थालाई सीसीटीभीमार्फत निगरानी गरिने व्यवस्था मिलाइएको सुरक्षा युनिटका उपप्रमुख श्रेष्ठले जानकारी दिएका छन्।
करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए ।
२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।
शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।
पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् । सुरुङ प्रयोग निशुल्क भने होइन । नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।
जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।



