CLI
Global College

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ।

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो।

चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गर्व महसुस भएको बताए। उनले नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्‍याउन श्रेष्ठले सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

अध्यक्ष अग्रवालले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको आपसी सहयोग अभिवृद्धिमा श्रेष्ठले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनको कूटनीतिक दक्षता र सक्रियताले चेम्बरको समेत शिर उचो बनाएको उल्लेख गरे।

सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष श्रेष्ठले चेम्बरले आफ्नो उपलब्धिको कदर गर्दै सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरे। भियतनामको परराष्ट्र मन्त्रालयले आफ्नो योगदानको उच्च मूल्याङ्कन गर्दै ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको उनले जानकारी दिए।

भियतनामको परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतमध्ये अग्रस्थानमा राखेर प्रदान गरिएको उक्त सम्मानले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने थप ऊर्जा मिलेको बताए। उनले चेम्बरले समेत नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्ध तथा लगानी अवसर विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

Leave Your Comment

Related News