CLI
Global College

हर्क साम्पाङको प्रश्न : कानुन कमजोर कि कानुन चलाउने मान्छे ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ)ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रप्रति कडा प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरू कानुनसँग नडराउने अवस्था सिर्जना भएको भन्दै राज्यको कानुनी प्रणालीमाथि प्रहार गरे। उनले अपराधीहरूले कानुनलाई ‘गोजीमा बोकेर हिँड्ने’ अवस्था आएको टिप्पणी गरे।

देशको अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै उनले प्रश्न गरे, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको हो ?’

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठूलो रकम रहेको अभिव्यक्ति दिएको स्मरण गर्दै त्यस्तो रकम फिर्ता ल्याउन नसक्नु सरकारको निरीहता भएको बताए।

‘हामी स्विस बैंकमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन सक्दैनौँ,’ उनले भने, ‘यस्तो निरीहताले सुशासनको गफ व्यर्थ साबित भएको छ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीको मृत्यु हुँदा उनीहरूको शवसमेत नेपाल ल्याउन नसक्ने अवस्था रहेको भन्दै राईले राज्यको क्षमतामाथि पनि प्रश्न उठाए। ‘विदेशमा नेपाली नागरिकको मृत्यु हुन्छ, तर उनीहरूको शवसम्म नेपाल ल्याउन सक्दैनौँ। यस्तो लाचार भएर बाँच्नुपरेको छ,’ उनले भने।

राईले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन र अपराधीलाई दण्डित गर्ने राज्य संयन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए।

Leave Your Comment

Related News