CLI
Global College

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका हुन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ सदस्यमध्ये २२ जना मतदानमा सहभागी भई विपक्षमा मत दिएका थिए।

यस्तै, राप्रपाका सभामुखसहित ५ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा तटस्थ रहेका छन्। जनता समाजवादी पार्टी (जसपा)की एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्।

९३ सदस्यीय कोसी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन ९ गते भएको तीनबुँदे सहमतिसँगै कोसी प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो। नयाँ समीकरणअनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपरेको थियो।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि सरकार सञ्चालनका लागि आवश्यक संसदीय समर्थन सुनिश्चित भएको छ।

Leave Your Comment

Related News