CLI
Global College

बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ बिक्री खुला गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणतर्फको निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसअनुसार १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

त्यस्तै, कम्पनीले २० हजार ८०० कित्ता कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ। अब बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याउन लागेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

बेनी हाइड्रोपावर प्रोजेक्टले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा बाँडफाँटपछि सर्वसाधारणतर्फको निष्काशन हुन लागेको हो।

Leave Your Comment

Related News