CLI
Global College

‘नाडा अटो शो २०२६’ सुरु, २०० बढी स्टलमा नयाँ सवारी तथा प्रविधिको प्रदर्शनी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०२६’  सुरु भएको छ। मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच शोको उद्घाटन गरेसँगै अटो शो औपचारिक रूपमा सुरु भएको हो।

नाडा अटो शो आगामी १४ भदौसम्म सञ्चालन हुनेछ। यस वर्ष नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको शोले ‘स्वर्ण उत्सव संस्करण’ को रूपमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र नेपालमै एसेम्बल तथा उत्पादन हुने सामग्रीलाई विशेष प्राथमिकता दिएको छ।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन्।
नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिएको यस वर्षको अटो शो व्यापारिक मेला वा प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र कोर्न सफल हुनुपर्ने उनको भनाइ छ।

उपराष्ट्रपति यादवले यातायात तथा अटोमोबाइल क्षेत्र आधुनिक अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा लामो समयदेखि नवप्रवर्तन र सहकार्यको नयाँ आयाम थप्दै आएको बताए।

उनले नवीनतम प्रविधिका सवारी साधन, विद्युतीय सवारी, अटो पार्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतलाई एउटै छातामुनि प्रस्तुत गर्ने नाडाको प्रयास सकारात्मक रहेको बताए।

नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारीसाधनलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए। उनले सवारीसाधन अब विलासिताको वस्तु मात्र नभई नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको धारणा राखे।

“सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ,” उनले भने, “आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो।”

अध्यक्ष उप्रेतीले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेको बताए। भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले अटोमोबाइल व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले सरकारले कर नीतिमा स्थिरता कायम गर्नुपर्नेमा जोड दिए।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उप्रेतीले अब एसेम्बल उद्योगसँगै सवारीसाधनका कम्पोनेन्ट तथा पार्टपुर्जा उत्पादनमा पनि ध्यान दिनुपर्ने बताए। नेपालमै उत्पादन हुने सवारीसाधनको स्थायित्व र प्रवर्द्धनका लागि सरकारले थप सहुलियत तथा प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ।

स्वच्छ ऊर्जा, नयाँ प्रविधि र चार्जिङ पूर्वाधारको विकासका लागि सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्न नाडा तयार रहेको उनले बताए।

२०० बढी स्टलमा सवारी र प्रविधि

नाडा अटो शो २०२६ मा २०० भन्दा बढी स्टल राखिएका छन्। शोमा २३ वटा चारपांग्रे सवारीसाधन, १७ वटा कमर्सियल सवारीसाधन, १३ वटा दुईपांग्रे सवारीसाधन तथा ७० वटा अटो कम्पोनेन्टका स्टल रहेका छन्।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका संस्थाका स्टल पनि प्रदर्शनीमा राखिएका छन्। अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन र सेवा प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टसमेत राखिएको छ।

यस वर्षको शोमा भविष्यको यातायात प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। जी–१ ह्युमनाइड रोबोट र जोई–२ क्वाड्रप रोबोट जस्ता प्रविधि प्रदर्शनीमा राखिएका छन्। यस्ता प्रविधिले आगामी दिनमा यातायात तथा अटोमोबाइल क्षेत्रमा हुन सक्ने परिवर्तनको अनुभव आगन्तुकलाई गराउने आयोजकको अपेक्षा छ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यस संस्करणलाई विद्युतीय सवारीसाधन, स्वदेशी उत्पादन, नयाँ अटोमोबाइल प्रविधि तथा भविष्यको यातायात प्रणालीबारे जानकारी लिन चाहनेका लागि महत्वपूर्ण प्रदर्शनीका रूपमा हेरिएको छ।

Leave Your Comment

Related News