CLI
Global College

कालो चस्मा लगाएर संसद् आउनुपर्ने भन्दै प्रधानमन्त्री शाहले बुझाए स्वास्थ्य प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयमा स्वास्थ्य प्रतिवेदन बुझाएका छन्।

आँखामा देखिएको स्वास्थ्य समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भएकाले कालो चस्मा लगाउनुपर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाउने निर्णय गरेको थियो। स्वास्थ्य कारणले चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्य प्रतिवेदनसहित सचिवालयमा पत्र बुझाउनुपर्ने समितिको निर्णय थियो।

सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्यसम्बन्धी प्रतिवेदन सचिवालयमा पठाएका हुन्।

प्रधानमन्त्री शाहले बुझाएको प्रतिवेदनअनुसार उनलाई उज्यालो सहन कठिन हुने (फोटोफोबिया) र आँखामा सुख्खापन हुने समस्या देखिएको छ। उनले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।

लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको आँखाको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।

यसैबीच, बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

प्रधानमन्त्रीले स्वास्थ्य प्रतिवेदन बुझाएसँगै अब उनी उक्त बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन पाउने वा नपाउने विषयमा देखिएको विवाद पनि टुंगिने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News