काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रले मुलुकको राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि यस क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ अटो शो–२०२६ तथा संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। बजारमा माग बढ्न नसक्दा उद्योग तथा व्यवसाय सञ्चालन गर्न कठिन भएको र व्यवसायीहरूको मनोबल विगत लामो समययताकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो।
उनले गत वर्ष करिब १०६ खर्ब रुपैयाँ बराबरको आयात हुँदा अटोमोबाइल क्षेत्रले मात्रै करिब ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्वमा योगदान गरेको उल्लेख गरे। कुल राजस्वमा करिब ८ देखि ९ प्रतिशत योगदान गर्ने अटोमोबाइल क्षेत्रलाई सरकारले थप प्राथमिकताका साथ हेर्नुपर्ने उनले बताए।
अध्यक्ष श्रेष्ठले नेपालमा हुने ठूलो परिमाणको आयातलाई स्वदेशी उत्पादन र रोजगारी सिर्जनाको अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, १०० अर्ब डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारे पनि त्यसअनुसारको ठोस रणनीति, योजना र नीतिको आवश्यकता रहेको उनले बताए।
उनले बन्द भएका पुराना उद्योग सञ्चालनमा ल्याउने विषयसँगै अहिले सञ्चालनमा रहेका तथा नयाँ उद्योगहरूले भोगिरहेका समस्या समाधानमा समेत सरकारले उत्तिकै ध्यान दिनुपर्ने बताए। ‘भुइँको टिप्न जाँदा पोल्टाको खस्न नदिने’तर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो।
श्रेष्ठले नेपालमै एसेम्बलिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आग्रह गरे। टायर, ब्याट्री र स्पेयर पार्ट्सजस्ता वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापनसँगै रोजगारी र उद्यमशीलता बढाउन सकिने उनले बताए। उनका अनुसार नेपालमा स्पेयर पार्ट्स मात्रै वार्षिक करिब २० देखि २२ अर्ब रुपैयाँ बराबरको आयात हुने गरेको छ।
स्वदेशमा उत्पादन र उद्यमशीलताको वातावरण निर्माण गर्दै युवालाई रोजगारीका अवसर उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए। युवा पलायन रोक्न र नेपाली श्रमिकको वास्तविक ज्याला (रियल वेज) बढाउने दिशामा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उनले बताए।
नाडा अटो शोको अवसरमा नाडा परिवार तथा सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई बधाई दिँदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा उपस्थित उपराष्ट्रपतिप्रति आभारसमेत व्यक्त गरे।



