काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १५/०८२ मा संशोधन तथा थप गर्दै यस्तो व्यवस्था गरेको हो। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी संशोधित निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गर्नुपर्नेछ। साथै, २०८३ असोज मसान्तभित्र वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्र भए वा नभएको स्वःघोषणा मोबाइल एप वा अन्य माध्यमबाट लिनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र लिइसकेका वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर पनि असोज मसान्तभित्र अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र नलिएका नागरिकलाई भने परिचयपत्र लिएर ग्राहक पहिचान विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेकका आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले वालेट प्रयोगकर्ताको पहिचान विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोड्दै डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।



