CLI
Global College

नागरिकको ज्यान जोगाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाओस्: रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले बाढी-पहिरोको जानकारी पाएलगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री लगायतका सरकारी संयन्त्रहरूसँग निरन्तर संवाद र समन्वय गरिरहेको बताएका छन्। संकटको यस घडीमा सरकार र रास्वपा पीडितहरूकै साथमा रहेको उल्लेख गर्दै उनले विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको जोड दिए।

विपद्को सामना गर्न विपक्षी दलहरूले देखाएको उच्च राजनीतिक संस्कार र सहयोगको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै सभापति लामिछानेले यतिबेला नागरिकको रक्षा गर्नु नै राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।

उनले रसुवा, धादिङ, चितवन र नवलपरासीका नदीतटीय तथा तल्लो क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन अपिल गरेका छन्। साथै, प्रभावित क्षेत्रहरूमा थप क्षति हुन नदिन पर्याप्त सुरक्षा जनशक्ति र आवश्यक स्रोत-साधन तत्काल परिचालन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave Your Comment

Related News