काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ का लागि बैंकहरुले सवारी कर्जाका लागि विभिन्न अफर र सुविधा दिइरहेका छन्। आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरु बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन सक्नेछन्, जसमा बैंकहरुले आधार दरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र प्रिमियम थपेर कर्जा सुविधा दिइरहेका छन्।
अटो शो सुरु भएसँगै सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच सस्तो ब्याजदरमा अटो कर्जा दिने प्रतिस्पर्धा चलेको छ। अधिकांश बैंकहरुले आधार दर (बेसरेट) मा सामान्य प्रिमियम मात्र थपेर कर्जा दिइरहेका छन्।
लक्ष्मी सनराइज बैंकले व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ ५.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। यसमा सेवा शुल्क ०.५ प्रतिशत रहेको छ। कर्जाको भुक्तानी अवधि भने विद्युतीय र पेट्रोल सवारी साधनका लागि छुट्टाछुट्टै रहेको छ। यस बैंकले विद्युतीय सवारी साधनको ब्याट्री लाइफ अनुसार कर्जाको समय तोकेको छ भने पेट्रोल सवारीतर्फ अधिकतम अवधि ८ वर्ष रहेको छ।

नेपाल बैंकले आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ। बैंकले प्रशासनिक सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ। यो योजना विद्युतीयसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुने बैंकले जनाएको छ।
यसैगरी, कृषि विकास बैंकले निजी सवारी खरिदका लागि ५.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ। व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ। यसमा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अधिकतम सात वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ। बैंकको सेवा शुल्क ०.५० प्रतिशत रहेको छ। व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको उपलब्ध विवरणमा उल्लेख छ।
त्यस्तै, प्रभु बैंकले करिब ५.४४ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराएको छ। निजी तथा व्यावसायिक सवारीका लागि समान ब्याजदर तोकिएको बैंकको योजनामा सेवा
शुल्क ०.५० प्रतिशत रहेको छ।
गोर्खाज फाइनान्सले पनि सात वर्षसम्मका लागि ६.७१ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ। फाइनान्सको सेवा शुल्क भने अन्य केही बैंकको तुलनामा बढी अर्थात् १ प्रतिशत रहेको छ।
यसैबीच, नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। बैंकले अटो शोमा आउने ग्राहकलाई सवारी खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ।
महालक्ष्मी विकास बैंकका अनुसार विकास बैंकहरुमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ। भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ।

कुमारी बैंकले १० वर्ष अवधिका लागि ५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ। यस बैंकले विद्युतीय गाडीको लागि ६०-४० प्रतिशत र पेट्रोल गाडीको लागि ८०-२० प्रतिशत डाउनपेमेन्टको व्यवस्था गरेको छ। बैंकले अटो कर्जाको जोखिम कम हुने भएकाले बेसरेटमै थोरै प्रिमियम जोडेर योजना ल्याएको जनाएको छ।
यसले सवारी खरिदकर्तालाई विभिन्न वित्तीय संस्थाका कर्जा योजनाबीच तुलना गरी आफूलाई उपयुक्त विकल्प छनोट गर्ने अवसरसमेत प्रदान गरेको छ।




