काठमाडौं । रसुवाको भोटोकोशीमा बुधबार आएको बाढीपरि प्रभावितहरुका लागि उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन ‘सेतु र्यापिड’ प्रणाली सञ्चालनमा ल्याइएको छ।
‘सेतु र्यापिड’ले उद्धारकर्मी, कमाण्ड केन्द्र र फिल्डमा परिचालित सवारीसाधन सञ्चालकहरूलाई एउटै लाइभ नक्सामा जोड्ने व्यवस्था गरेको छ। यसमार्फत विपद् प्रभावित क्षेत्रमा सहायता आवश्यक परेको स्थान पहिचान गरी उद्धार तथा राहत सामग्री छिटो पुर्याउन सहयोग पुग्नेछ।
प्रणालीले फिल्डमा परिचालित उद्धार टोली तथा सवारीसाधनको अवस्थालाई एकीकृत रूपमा हेर्न र आवश्यकताअनुसार परिचालन गर्न सहज बनाउने उद्देश्य राखेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार विपद्को समयमा सूचना आदानप्रदान, उद्धार टोलीको समन्वय तथा स्रोतसाधनको प्रभावकारी परिचालनमा ‘सेतु र्यापिड’ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एउटै लाइभ नक्सामार्फत कमाण्ड केन्द्रले फिल्डको अवस्था अनुगमन गर्न सक्ने भएकाले आवश्यक स्थानमा सहायता छिटो पुर्याउन तथा उद्धार कार्यमा हुने ढिलाइ कम गर्न मद्दत पुग्नेछ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रविधिमैत्री, समन्वित र प्रभावकारी बनाउने उद्देश्यले ‘सेतु र्यापिड’लाई उपयोगी माध्यमका रूपमा अघि बढाइएको हो।




