CLI
Global College

प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। रक्षाबन्धनको अवसरमा शुभकामना दिँदै उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले आज भएका खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी काम र प्रगतिबारे जानकारी सार्वजनिक गर्दै सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन्। उनले मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन भइरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका अनुसार खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। यसमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन्। उनीहरू रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका छन्।

हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र आजको हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना समेत छन्।

नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर Shuttle Flight सञ्चालन भइरहेको र हालसम्म ९९ वटा हवाई उडान भइसकेको प्रधानमन्त्रीले बताएका छन्।

३२ ट्रक राहत सामग्री पठाइयो

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि भइरहेको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ।

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमयुक्त सुरुङमा फसेका नागरिक र कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताएका छन्।

Upper Trishuli Hydropower Project र रसुवागढी जलविद्युत् केन्द्रमा फसेका तथा अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको छ। यसका लागि आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट तल्लो तटीय क्षेत्रतर्फ विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।

विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न Emergency Control Room सञ्चालन गरेको छ। प्रधानमन्त्रीले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको समेत बताएका छन्। विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको उनको भनाइ छ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिम भएका क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको प्रधानमन्त्रीले बताएका छन्।

सडक सम्पर्क पुनःस्थापनामा तीव्रता

बाढीबाट प्रभावित सडक सम्पर्क पुनःस्थापनाको काम पनि अघि बढाइएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ। काठमाडौं–मुग्लिङ सडकसमेत एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीले बताएका छन्।

रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ।

क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली ब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको प्रधानमन्त्रीले बताएका छन्।

नुवाकोटमा खानेपानीका लागि KUKL का ४ वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ। सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

विद्युत् सेवातर्फ नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।

प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा पनि प्रगति भएको छ। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्।नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएको प्रधानमन्त्रीले बताएका छन्। बाँकी साइटमा प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ।

स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई Standby अवस्थामा राखिएको छ भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ।

आवश्यक औषधी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्। रोगको निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ।

राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावित १५ स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको प्रधानमन्त्रीले बताएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ।

यसैगरी प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।

सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनामा भएको क्षतिको मूल्यांकन सुरु गरिएको छ। यसका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।

जोखिममा रहेका परिवारका लागि Emergency Shelter को स्थल पहिचान तथा Relocation को काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ।

प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिएका छन्।

नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै प्रधानमन्त्रीले ढाँटलाई नेपाल सरकारको तर्फबाट धन्यवादसमेत दिएका छन्। उनको सफलता नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको दोहोर्‍याउँदै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन्।

Leave Your Comment

Related News