CLI
Global College

भोटेकोसी बाढीका कारण परराष्ट्रमन्त्री खनालले रोके सर्बिया भ्रमण

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो ।

तर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सबिया भ्रमणमा नजाने भएका हुन् ।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

Leave Your Comment

Related News