काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धार कार्यमा खटिएको हो। अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ विज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको बताइएको छ।
चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि काम गर्नेछ। संयुक्त टोलीले सुरुङभित्रको अवस्था, जोखिम तथा उद्धारको सम्भावनाबारे प्राविधिक रेकी (अनुगमन) गर्नेछ।
प्रारम्भिक प्राविधिक अनुगमनपछि उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञहरूलाई समेत तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीपछि सुरुङभित्र मानिसहरू फसेको अवस्थामा उद्धार कार्य चुनौतीपूर्ण बनेपछि नेपाली पक्षले चिनियाँ प्राविधिक सहयोगसमेत परिचालन गरेको हो।



