काठमाडौं ।नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ ।
यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो ।
बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्न अनुरोध गरेको छ ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको नेपाल टेलिकमले उल्लेख गरेको छ ।
टेलिकमका अनुसार अधिकांश संरचना सुचारु भएका छन् भने बाँकी संरचना समेत सुचारु गर्ने कार्यमा कम्पनीका प्राविधिकहरु निरन्तर रुपमा खटिरहेका छन् ।
विपद्को अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।



