CLI
Global College

पूँजी बजारमा प्रविधिको नयाँ आयाम : इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात


इक्विटी नेपाल – काठमाडौँ :
नयाँ वर्ष २०७५को सुरुवातसँगै नेपाली पूँजी बजारमा पनि नयाँ प्रयोगको सुरुवात भएको छ। आजबाट लगानीकर्ताले इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात भएको छ। 
आज ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रा लिले एक कार्यक्रमका बिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीबाट इन्टरनेटको माध्यमबाट सेयर खरिद बिक्रीको आदेश दिन प्रणालीको सुरुवात गरेको छ। यो प्रणालीको सुरुवात सँगै लगानीकर्ताले  खरिद बिक्री आदेश दिनका लागि ब्रोकर कार्यालयसम्म धाउनु अवस्थाको पनि अन्त्य भएको छ ।  
अहिले प्रयोगमा ल्याइएको इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीमा लगानीकर्ताले घरमै बसी ब्रोकर कम्पनीको वेबसाइटमा प्राप्त युजर आईडी तथा पासवर्ड प्रयोग गरी आफूले खरिद वा बिक्री गर्न चाहेको कम्पनीको नाम, कित्ता सङ्ख्या र मूल्य तोकी ब्रोकर कम्पनीलाई आदेश प्रदान गर्न सक्नेछन । उता लगानीकर्ताबाट प्राप्त आदेशलाई ब्रोकर कार्यालयका कर्मचारीले नेप्सेको कारोबार कक्षमा प्रविष्ट गरी कारोबार सम्पन्न गर्ने छन्। 
अहिले प्रयोगमा ल्याइएको प्रणाली वास्तवमा एउटा इन्टरनेटमा आधारित “अर्डर म्यानेजमेन्ट सिस्टम” मात्र रहेको छ। जे जस्तो भएता पनि यस प्रणालीको पूर्ण कार्यान्यन सँगै लगानीकर्ताहरू निकट भविष्यमा आउने पूर्ण अनलाइन कारोबार प्रणालीसँग परिचित हुन थप मद्दत पुग्ने देखिन्छ। 
यो प्रणालीको प्रयोगसँगै नेपाली पूँजी बजार थप  प्रविधिमैत्री हुँदै गइरहेको जनाउ दिएको छ। तत्कालकै अवस्थामा सम्पूर्ण लगानीकर्ताले सबै ब्रोकर कार्यालयबाट यो सुविधा नपाए पनि निकट भविष्यमा अवश्य नै पाउने छन्। आज ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रा लिसंगै ब्रोकर नम्बर २१ मिदास स्टक ब्रोकिङ कम्पनी प्रालि र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज कम्पनी लिमिटेडलेपनि  इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात गरेका छन्। 

Leave Your Comment

Related News