काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो।
उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखिएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरेको छ। बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली परिचालन गरिएको सेनाले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढेपछि सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरूलाई परिचालन गरिएको छ। जोखिममा रहेका नागरिकको उद्धार, उपचार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन विभिन्न निकायबीच समन्वय भइरहेको जनाइएको छ।
यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन
त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन



