काठमाडौं । एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ गुप्तचर गतिविधिसँग जोडिएको विवाद र कम्पनीको सेयरमा आएको गिरावटका बीच उनको सम्पत्ति एकै दिनको कारोबार सुरु भएको पहिलो ३० मिनेटमै ७ अर्ब ४० करोड अमेरिकी डलरले घटेको फोर्ब्सले जनाएको छ।
फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीअनुसार उनको अनुमानित सम्पत्ति घटेर १५४ अर्ब ७० करोड डलरमा झरेको छ। यससँगै विश्वका अर्बपतिहरूको सूचीमा उनी आठौँ स्थानबाट दशौँ स्थानमा पुगेका छन्। उनी बर्कशायर ह्याथवेका वारेन बफेट र ओराकलका सहसंस्थापक ल्यारी एलिसनभन्दा तल झरेका हुन्।
हुआङको सम्पत्तिमा आएको गिरावटको प्रमुख कारण एनभिडियाको सेयर मूल्यमा आएको कमी हो। नोभेम्बर ९ मा कम्पनीको सेयर मूल्य ४.३ प्रतिशतले घट्दा बजार पुँजीकरणबाट करिब १९० अर्ब डलर गुमेको थियो। कारोबारअघि सेयर मूल्यमा गिरावट ७ प्रतिशतसम्म पुगेको थियो।
एनभिडियाको सेयरमा दबाब, स्वतन्त्र छानबिन सुरु
एनभिडियाले हुआङसँग जोडिएको विदेशी गुप्तचर गतिविधिको सम्भावनासम्बन्धी रिपोर्ट सार्वजनिक भएपछि स्वतन्त्र छानबिन सुरु गर्ने घोषणा गरेको छ। यही घटनाक्रमले कम्पनीको सेयरमा थप दबाब सिर्जना गरेको बताइएको छ।
हुआङसँग जोडिएको विवाद सिंगापुरमा मुख्यालय रहेको मेगास्पिड इन्टरनेसनलकी पूर्व कार्यकारी एलिस हुआङसँग सम्बन्धित रिपोर्टहरूबाट सुरु भएको हो। उनी एनभिडियाकी ग्राहकसमेत रहेकी थिइन्। अमेरिकी अधिकारीहरूले एलिस हुआङ चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित व्यक्ति भएको आरोपबारे अनुसन्धान गरेको समाचारमा उल्लेख छ। मेगास्पिडमाथि अमेरिकी निर्यात प्रतिबन्ध लागेका अत्याधुनिक एनभिडिया चिपमा पहुँचसम्बन्धी शंकासमेत उठेको थियो।
यद्यपि, यी आरोपहरू पुष्टि भइसकेका छैनन्। हुआङको व्यक्तिगत सम्बन्धसम्बन्धी विषय र विदेशी गुप्तचर गतिविधिको आरोपलाई छुट्टाछुट्टै रूपमा हेरिएको छ।
नोभेम्बर ८ मा कर्मचारीहरूलाई पठाएको सन्देशमा हुआङले आफ्नी पत्नी लोरी हुआङप्रति आफूबाट बेइमानी भएको स्वीकार गर्दै परिवारसँग माफी मागेका थिए। त्यसपछि एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र सञ्चालकहरूको नेतृत्वमा बाह्य कानुनी परामर्शदाताको सहयोगसहित छानबिन गर्ने निर्णय गरेको हो।
कम्पनीले भने अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको वा एनभिडियाको गोप्य सूचना बाहिरिएको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ। सञ्चालक समितिले हुआङ र उनको नेतृत्व टोलीप्रति विश्वाससमेत व्यक्त गरेको छ।
एनभिडिया र सीईओविरुद्ध सेयरधनीको मुद्दा
यसैबीच, एनभिडिया र हुआङविरुद्ध अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे संघीय अदालतमा सेयरधनीहरूको सामूहिक मुद्दा दायर गरिएको छ। रोयटर्सका अनुसार मुद्दामा कम्पनी र सीईओले हुआङको कथित सम्बन्ध तथा त्यससँग जोडिन सक्ने राष्ट्रिय सुरक्षा जोखिमबारे पर्याप्त जानकारी सार्वजनिक नगरेको आरोप लगाइएको छ। यसले कम्पनीको व्यवसाय र प्रतिष्ठामा पर्न सक्ने जोखिमबारे लगानीकर्तालाई भ्रममा पारेको सेयरधनीहरूको दाबी छ। मुद्दामा क्षतिपूर्तिको माग गरिएको भए पनि रकम तोकिएको छैन। अदालतबाट यी आरोप पुष्टि हुन बाँकी छ।
सम्बन्धविच्छेदको चर्चाले पनि सम्पत्तिबारे बहस
हुआङले वैवाहिक सम्बन्धमा बेइमानी गरेको स्वीकार गरेपछि सम्भावित सम्बन्धविच्छेद र त्यसको वित्तीय प्रभावबारे पनि चर्चा सुरु भएको छ। उनले सन् १९८५ मा लोरी हुआङसँग विवाह गरेका थिए। एनभिडिया स्थापना हुनुभन्दा आठ वर्षअघि विवाह गरेका उनीहरूका दुई सन्तान छन्।
तर, उनीहरूबीच अलग हुने वा सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया अघि बढेको कुनै सार्वजनिक जानकारी छैन। फोर्ब्सले देखाएको १५४ अर्ब ७० करोड डलरको सम्पत्तिलाई आधार मानेर ५०/५० भाग लगाउँदा प्रत्येकको हिस्सा ७७ अर्ब ३५ करोड डलर हुने गणना गर्न सकिन्छ। यो केवल काल्पनिक हिसाब हो।
क्यालिफोर्नियाको सामुदायिक सम्पत्तिसम्बन्धी कानुनअनुसार वैवाहिक सम्पत्ति सामान्यतया बराबर बाँडिने व्यवस्था भए पनि व्यक्तिको सम्पूर्ण अनुमानित सम्पत्ति स्वतः आधा हुने भन्ने हुँदैन। छुट्टै सम्पत्ति, स्वामित्व संरचना, ट्रस्ट र वैवाहिक सम्झौताले अन्तिम बाँडफाँटमा प्रभाव पार्न सक्छन्।
एनभिडियाको नेतृत्व र एआई बजारमा लगानीकर्ताको चासो
सन् १९९३ मा कम्पनी सहस्थापना गरेका हुआङले एनभिडियालाई ग्राफिक्स चिप उत्पादकबाट विश्वव्यापी एआई कम्प्युटिङ क्षेत्रमा अग्रणी कम्पनीका रूपमा विकास गरेका छन्। कम्पनीको भविष्य, एआई पूर्वाधारमा भइरहेको ठूलो लगानी, निर्यात प्रतिबन्ध र भू–राजनीतिक तनावका कारण एनभिडिया अहिले पनि लगानीकर्ताको निगरानीमा छ।
कम्पनीको स्वतन्त्र छानबिन, सेयरधनीको मुद्दा र नेतृत्वसम्बन्धी अनिश्चितताले आगामी दिनमा एनभिडियाको सेयरमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। फोर्ब्सको नोभेम्बर ९ को पछिल्लो अनुमानमा हुआङको सम्पत्ति १५५ अर्ब ४० करोड डलर देखाइएको थियो र उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा दशौँ स्थानमै थिए।



