काठमाडौं । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो शेयर स्वामित्व घटाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयले शेयर विनिवेशसम्बन्धी अध्ययन गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
मन्त्रालयले शुक्रबार सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, कानुन सचिव पाराश्वर ढुंगाना र अर्थ मन्त्रालयकी सहसचिव कविता रेग्मी सदस्य रहेका छन् ।
उपसमितिले नेपाल टेलिकममा सरकारको विद्यमान शेयर स्वामित्व घटाउने विषयमा विस्तृत अध्ययन गरी आवश्यक राय तथा सिफारिस सरकारलाई पेस गर्नेछ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नेपाल टेलिकममा रहेको आफ्नो शेयर स्वामित्व घटाउने योजना सार्वजनिक गरेको थियो । हाल कम्पनीमा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सरकारले उक्त हिस्सा घटाएर ६६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।
हाल नेपाल टेलिकममा नागरिक लगानी कोषको ०.०३ प्रतिशत तथा सर्वसाधारण र कर्मचारीको कुल ८.४८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
सरकारको प्रस्तावित योजनाअनुसार शेयर स्वामित्व घटाइएमा नेपाल टेलिकममा सर्वसाधारण तथा अन्य लगानीकर्ताको सहभागिता बढ्नेछ ।



