काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । बैंकको वार्षिक साधारण सभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
संघको परम्पराअनुसार उपाध्यक्ष नै अध्यक्ष बन्ने भएकाले हाल उपाध्यक्ष रहेका रेग्मी अध्यक्ष बनेका हुन् । उपाध्यक्षमा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल चयन भएका छन् । बैंकर्स संघमा उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्परा लामो समयदेखि चलिआएको छ । निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति १० जनाको छ । प्रमुख कार्यकारी अधिकृतबाट हटेपछि संघको सदस्य पनि स्वत रिक्त हुन्छ ।



