काठमाडौं । परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भएको सहमति र समझदारीको कार्यान्वयन, साउदी अरबमा भएको आक्रमणमा घाइते चार नेपालीमध्ये एक जनाको मृत्यु भएको घटना, द्विपक्षीय संयन्त्रको बैठक, नेपाल–चीन नाका तथा व्यापार, आर्थिक कूटनीति र क्षेत्रीय सहयोग संगठनको गतिविधिसहित ७ वटा मुख्य विषय सार्वजनिक गरेको छ । ब्रिफिङका क्रममा ती विषयको प्रस्तुतिपछि विषय केन्द्रित प्रश्नोत्तर कार्यक्रमसमेत तय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी २०८३ मंसिर ७ गते नेपाल फरेकेका हुन । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ‘जोइन्ट भिजन डकुमेन्ट’ लगायत विभिन्न आपसी सहमति, समझदारी र महत्वपूर्ण निर्णय भएको छ । ती निर्णय र सहमतिलाई दुई देश तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयले काम सुरु गरिसकेको छ । सम्बन्धित मन्त्रालय र निकायले आ–आफ्नो क्षेत्रको समझदारीपत्र (एमओयू) र सहमति कार्यान्वयन गर्ने तथा मन्त्रालयले नियमित रूपमा त्यसको फलोअप गर्ने जनाइएको छ । सर्वसाधारणले सजिलै बुझ्न सकून् भनेर भ्रमणका उपलब्धि समेटिएको १२ वटा क्यारसोल ग्राफिक्स तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकिएको र भावी प्रगतिबारे थप अद्यावधिक गराइने मन्त्रालयले स्पष्ट पारेको छ ।
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाउँदै मन्त्रालयले विदेशमा रहेको नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको दोहोर्याएको छ । कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्ने तथा कुनै पनि बहानामा जीउधन, निजी सम्पत्ति र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने नेपालको अडान रहेको छ । साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टअन्तर्गतको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएको पछिल्लो दुई आक्रमणमा परी घाइते भएका चार नेपाली नागरिकलाई रियादस्थित अस्पतालमा लगिएकामा एक जनाको दुःखद निधन भएको र एक जना उपचारपछि फर्केको मन्त्रालयले जनाएको छ । बाँकी दुई जनाको उपचार भइरहेको छ । मृतकप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभ कामना गर्दै शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले समन्वय सुरु गरेको तथा त्यहाँ रहेका नेपालीलाई स्थानीय प्रशासन र दूतावासको सुरक्षा मार्गदर्शन पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल र जापानबीच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ विभिन्न कार्यक्रमसहित मनाइँदै आएको सन्दर्भमा व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा र संस्कृतिजस्ता क्षेत्रमा सहकार्य थप विस्तार हुँदै गएको मन्त्रालयले उल्लेख गरेको छ । यही अवसरमा काठमाडौँ महानगरपालिका र काठमाडौँस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा २०८३ मंसिर ६ गते नेपाल–जापान महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सहभागी हुन दुईदिने भ्रमणमा आएका जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले मंसिर ५ गते परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरी द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो । साथै, नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक २०८३ मंसिर ३ गते फिनल्यान्डको हेलसिन्कीमा सम्पन्न भएको छ, जसमा द्विपक्षीय सम्बन्ध, विकास सहयोग, व्यापार तथा लगानीबारे समीक्षा गरिएको थियो । उक्त बैठकको सहअध्यक्षता नेपालका तर्फबाट सहसचिव गणेशप्रसाद ढकाल र फिनल्यान्डका तर्फबाट परराष्ट्र मन्त्रालयको एसिया तथा ओसियानिया विभागका केइजो नोर्भान्टोले गरेका थिए ।
यसैगरी, २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको सन्दर्भमा तातोपानी–झाङमु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर आवागमन खुला गर्ने र अन्य नाका सहज बनाउने विषयमा चिनियाँ पक्ष तथा सम्बद्ध निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल–चीन व्यापारसँग जोडिएको निजी क्षेत्रको व्यावसायिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा मंसिर १० गते मन्त्रालयमै बैठक आयोजना गरिएको र यसबारे थप जानकारी दिइने बताइएको छ । आर्थिक कूटनीतिअन्तर्गत मंसिर १ गते निर्यात व्यवसायी महासंघ नेपाल (एफईईएन) सँग निर्यातको अवस्था, सम्भावना र चुनौतीबारे तथा मंसिर २ गते सफ्टवेयर तथा आईटी सेवा कम्पनीको संस्था नास–आईटीसँग सफ्टवेयर र आईटी सेवाको निर्यात सम्भावनाबारे परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तर्क्रिया सम्पन्न भएको छ ।
क्षेत्रीय तथा उपक्षेत्रीय संगठन सार्क, बिमस्टेक, एसीडी, सासेप, बीबीआईएन, सावेन र एससीओमा नेपालको राष्ट्रिय हित र नेतृत्वदायी भूमिका प्रवर्द्धन गर्ने क्रममा कोलोम्बोमा ११ नोभेम्बर २०२६ मा आयोजित बिमस्टेकको प्रथम स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा नयाँ दिल्लीमा २० देखि २२ नोभेम्बर २०२६ मा आयोजित प्रथम एससीओ सिभिलाइजेसनल डायलग फोरममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको मन्त्रालयले जनाएको छ । साथै, भारतको भुवनेश्वरस्थित कलिङ्गा स्टेडियममा २५ देखि २७ नोभेम्बर २०२६ सम्म भएको पहिलो बिमस्टेक यू–२३ एथलेटिक्स मिट २०२६ मा ६ सदस्य राष्ट्रका २०० भन्दा बढी खेलाडीबीच ३२ विधामा प्रतिस्पर्धा हुँदा पुरुष ५ हजार मिटर दौडमा नेपालका मिङ्गमार सिंगी तामाङले रजत पदक जित्दै नेपालले समग्रमा चौथो स्थान हासिल गरेको जानकारी पनि ब्रिफिङमा दिइएको छ ।



