Global College

साढे ६ अर्ब वितरणपछि रोकिएको निर्यात अनुदानको विकल्पमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने तयारी

काठमाडौं । सरकारले निर्यातकर्तालाई दिँदै आएको नगद अनुदान प्रणाली खारेज गरेपछि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने तयारी गरेको छ । स्वदेशी उत्पादनको निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको निर्यात अनुदान कार्यक्रम बजेट अभाव र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कानुनी व्यवस्थाका कारण रोकिएको हो ।

सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत पहिलोपटक निर्यातमा नगद अनुदान दिने नीति ल्याएको थियो । स्वदेशी उत्पादनको निर्यात बढाउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता सुधार गर्ने उद्देश्यले सुरु गरिएको उक्त व्यवस्थालाई ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मार्फत व्यवस्थित गरिएको थियो । उक्त कार्यविधिको दोस्रो संशोधन २०७९ असोज ३१ गते राजपत्रमा प्रकाशित भएको थियो ।

पुरानो व्यवस्थाअनुसार शतप्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरी कम्तीमा ५० प्रतिशत मूल्य अभिवृद्धि गर्ने वस्तुको निर्यातमा ५ प्रतिशत र कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्ने वस्तुको निर्यातमा ४ प्रतिशत नगद अनुदान दिने व्यवस्था थियो । ठूलो परिमाणमा निर्यात हुने वस्तुमा भने ८ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

यस कार्यक्रमअन्तर्गत सरकारले २०८१ कात्तिकसम्म निर्यातकर्तालाई करिब ६ अर्ब ५० करोड रुपैयाँ नगद अनुदान वितरण गरिसकेको थियो । तर, पछिल्ला वर्षमा बजेट अभावका कारण अनुदान भुक्तानीमा समस्या देखिन थाल्यो । निर्यात गरिसकेका उद्योगी तथा व्यवसायीले समेत वर्षौंसम्म अनुदान रकम प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भयो ।

२०८२ असारसम्म निर्यातकर्ताले करिब ६ अर्ब रुपैयाँ बराबरको अनुदान दाबी गरेका थिए । त्यसमध्ये नेपाल राष्ट्र बैंकले ३ अर्ब १७ करोड रुपैयाँ स्वीकृत गरेको भए पनि १ अर्ब १९ करोड ७० लाख रुपैयाँ मात्रै भुक्तानी भएको थियो । यसले पुरानो अनुदान प्रणालीमा सरकारको दायित्व बढ्दै गएको र भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बनेको देखाएको थियो ।

निर्यात अनुदानको सट्टा नयाँ कार्यक्रम ल्याउने तयारी

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उत्पादनमा आधारित राष्ट्रिय अनुदान नीति बनाउने घोषणा भएपछि सरकारले पुरानो निर्यात अनुदान प्रणाली हटाएर नयाँ व्यवस्था ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

सोही क्रममा २०८२ असोज २४ गते उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने गरी निर्यात अनुदानका नयाँ निवेदन नलिने जनाएको थियो । यस निर्णयपछि आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरेका उद्योगले समेत पुरानो व्यवस्थाअनुसार अनुदान पाउने बाटो बन्द भएको थियो ।

सरकारको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्टि जनाउँदै निर्यात अनुदान पुनः सञ्चालन गर्न माग गरेको थियो । अनुदान रोकिँदा उद्योगको लगानी, निर्यात तथा रोजगारीमा नकारात्मक असर पर्न सक्ने महासंघको भनाइ थियो ।

यद्यपि, २०८२ फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ खारेज गर्ने निर्णय गर्‍यो ।

निर्यात अनुदान हटाउनुको प्रमुख कारण नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियासँग जोडिएको छ । विश्व व्यापार संगठन (डब्लुटीओ) का नियमअनुसार निर्यातको परिमाणसँग प्रत्यक्ष जोडिएका अनुदान सामान्यतया निषेधित हुन्छन् । अतिकम विकसित मुलुकलाई भने यसमा विशेष छुट उपलब्ध हुँदै आएको छ ।

तत्कालीन उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले स्तरोन्नतिपछि निर्यात अनुदान कानुनी रूपमा दिन नमिल्ने बताएका थिए । उनका अनुसार उत्पादन वृद्धिलाई ५० प्रतिशत अङ्कभार दिएर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा रायका लागि पठाइएको थियो ।

नयाँ कार्यक्रममार्फत निर्यातको परिमाणभन्दा स्वदेशी उत्पादन वृद्धि र औद्योगिक क्षमताको विकासलाई प्राथमिकता दिने सरकारको तयारी देखिएको छ । यसले पुरानो निर्यात अनुदान प्रणालीको विकल्पमा उत्पादनमुखी प्रोत्साहन व्यवस्था स्थापित गर्ने अपेक्षा गरिएको छ ।

NECO

Leave Your Comment

Related News